काठमाडौं, वैशाख २४ - सामान्य प्रशासनमन्त्री प्रभाकर प्रधानांग (रवीन्द्र श्रेष्ठ) राति सिंहदरबारस्थित कार्यालयमै सुत्न थालेको जानकारी स्रोतले दिएका छन् । स्रोतका अनुसार माओवादी आमहडताल छलेर सिंहदरबार आउजाउ गर्न गाह्रो भएपछि उनी बुधबार राति कार्यालयमै सुतेका हुन् ।
भक्तपुरको ठिमीमा घर भएका उनी ललितपुरको पुल्चोकस्थित निवासमा बस्दै आएका छन् । माओवादी अवरोधका कारण उनी निवास नगई कार्यालयमै सुतेका हुन् । उनी बिहीबार रातिसमेत कार्यालयमै सुत्ने जानकारीसमेत मन्त्रालय स्रोतले उल्लेख गरेको छ ।
प्रशासन पुनर्संरचना आयोगको कार्यविधिबारे सुझाव लिन बिहीबार दिउँसो बोलाइएको सरकारका सचिवहरूको बैठकमा उनले आफैंले कार्यालयमै सुतेको बताएका थिए ।
'तपाईंहरूलाई अफिस आउजाउ गर्न गाह्रो छ कि के छ ?' सामान्य प्रशासनमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भने, 'म त आउजाउ गर्न गाह्रो भएकाले गएराति (बुधबार राति) कार्यालयमा सुतें । कुनै अप्ठ्यारो भएन ।'
सामान्य प्रशासनमन्त्री कार्यकक्षमै बेड लगाएर सुतेका थिए । उनले रातको खाना भने राष्ट्रिय अनुसन्धान विभागमा खाएको जानकारी स्रोतले दिए । सबेरै कार्यालय आउने मन्त्री र सचिवहरूलाई अनुसन्धान विभागमा खाना बनाएर खुवाउने गरिएको छ ।
अरू धेरैजसो मन्त्री भने आमहडताल सुरु हुनुअगावै बिहान ३ देखि ४ बजेभित्रै कार्यालयमा आउने गरेका छन् । मन्त्रालयका सचिवहरूसमेत बिहानै कार्यालय आउजाउ गर्ने गरेका छन् ।
स्थितिलाई उत्तेजक नबनाऊः गृह
काठमाडौं, वैशाख २४ - तोडफोड र आगजनी गरेर स्थितिलाई उत्तेजक नबनाउन गृह मन्त्रालयले बिहीबार सबैलाई आग्रह गरेको छ ।
माओवादीले गर्दै आएको आमहडतालको विरोधमा सर्वसाधारण जनता र सरकारसम्बद्ध पार्टीका कार्यकर्ताहरू एकआपसमा लड्न थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
पर्साको वीरगन्जमा माओवादीविरुद्ध एक समूहले आगजनी गरेर लाखौं रुपैयाँको धनमाल क्षति पुर्याएपछि मन्त्रालयले त्यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पसल खोल्ने/नखोल्ने विषयमा विवाद हुँदा हडतालविरोधी जनसमुदाय र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । झडपलगत्तै प्रतिकार गर्न उत्रिएकाहरूले माओवादीहरू बस्ने सिटीहलको प्रांगणमा राखेको पाल र त्यसभित्र रहेका लाखौंका खाद्य सामग्री तोडफोड र आगजनी गरेका थिए । त्यसरी तोडफोड गरिरहँदा सुरक्षाकर्मीले हस्तक्षेपको प्रयास गरेको देखिएन ।
वीरगन्जको घडिअर्वा, माईस्थानलगायतका स्थानमा झडपको स्थिति देखिएका थियो । उक्त घटनामा माओवादीका सभासद प्रभु साह र शिवचन्द्र कुशवाहालगायत ६० भन्दा बढी घाइते छन् ।
मन्त्रालयले प्रचलित कानुन र मानव अधिकारको मान्यताविरुद्ध हिंसा, तोडफोड र अराजकता सिर्जना गर्ने क्रियाकलाप नगरी दुवै पक्षलाई मौलिक अधिकारको सम्मान गर्दै शान्ति कायम गर्ने कार्यमा सहयोग पुर्याउन आग्रह गरेको छ ।
'बन्द फिर्ता गर'
काठमाडौं, वैशाख २४ - जनजीवन आक्रान्त पार्ने बन्दबाट राजनीतिक निकास सम्भव नहुने भन्दै विभिन्न नागरिक संघसंस्थाले हडताल फिर्ता गरी सहमतिबाट निकास निकाल्न दलहरूलाई आग्रह गरेका छन् ।
उनीहरूले आमहडताल फिर्ता लिएर तत्काल सहमति गरी गतिरोध अन्त्य गर्न र संविधानको सुनिश्चित गर्नसमेत सुझाव दिएका छन् ।
मानव अधिकार तथा शान्ति समाजले आन्दोलन हिंसाउन्मुख भएको भन्दै मुठभेड रोक्न दलहरूलाई आग्रह गरेको छ । समाजले आक्रमण र उत्तेजक व्यवहार प्रदर्शन नगर्नसमेत आन्दोलनकारी र सुरक्षाकर्मीको ध्यानाकर्षण गराएको छ ।
६ जना युवा श्रष्टाले पनि बिहीबार विज्ञप्तिमार्फत असमझदारीले लोकतान्त्रिक उपलब्धिको रक्षा सम्भव नहुने राय सहित आन्दोलन फिर्ता गर्न र राष्ट्रिय सरकार गठन गर्न माग गरेका छन् । मानव अधिकार संगठनले अडानको बीचबाट सहमतिको उपाय खोज्न दलहरूलाई आग्रह गरेको छ ।
मानव अधिकार प्रतिष्ठानले दलहरूका भ्रातृ संगठनबीच झडपको स्थिति बनेको भन्दै संयम अपनाउन आग्रह गरेको छ ।
आमहडतालले हजारौं हस्तकला व्यवसायीको रोजिरोटी प्रभावित भएको भन्दै नेपाल हस्तकला महासंघले बन्द फिर्ता लिन माओवादीसँग आग्रह गरेको छ । सिरहामा क्रियाशील विभिन्न आधा दर्जन बढी संस्थाहरूले पनि सहमतिमार्फत संविधान निर्माणको नयाँ कार्ययोजना जारी गन माग गरेका छन् ।
यस्तै महिला पुनस्र्थापना केन्द्र, मानव अधिकार अभियान, जनआन्दोलन घाइते समाज, नेपाल नागरिक समाज, सुनसरी भोजपुर सरोकार समाज, किराँत राई यायोक्खा, जनगन्तव्य नागरिक समाज, विभिन्न क्रिस्चियन मण्डलीहरू र अन्य संघसंस्थाले पनि बन्दको विरोध गर्दै 'सहमति'मै जोड दिन दलहरूलाई आग्रह गरेका छन् ।
WELCOME TO SOCIETYOFBHUTANESEREFUGEESBAL.BLOGSPOT.COM
HAPPY NEW YEAR 2067 TO ALL VISITORS!
नव बर्श २०६७ साल्को उपलक्षमा म सबैलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु!
No comments:
Post a Comment